परिचय

ग्रामीण तथा नविकरणीय ऊर्जा प्रविधिको क्षेत्रमा अनुदान तथा सरल कर्जाको प्रभावकारी परिचालन गर्न वित्तीय व्यवस्था सहितको केन्द्रीय नविकरणीय ऊर्जा कोषको स्थापना भएको हो ।

यस कोषको प्रभावकारी सञ्चालनको लागि नेपाल सरकार (सम्माननीय प्रधानमन्त्रीज्यू)बाट मिति २०७१।९।१७ गते केन्द्रीय नविकरणीय ऊर्जा कोष (सञ्चालन) निर्देशिका, २०७१ स्वीकृत भई लागु भएको छ ।

२०७२ वैशाख (April 2015) देखि कोष सञ्चालनमा आएको छ ।

उद्देश्यहरु

कोषका उद्देश्यहरु निम्नानुसार छन्:

  • नविकरणीय तथा ग्रामीण ऊर्जा प्रविधिको विकास, प्रवर्द्धन तथा विस्तार गर्नको लागि अनुदान तथा कर्जा प्रवाह गर्ने ।
  • वित्तीय मध्यस्थकर्ताहरु मार्फत सहुलियत दरमा उपभोक्ता कर्जा उपलब्ध गराउने ।
  • सार्वजनिक निजी साझेदारीमा नविकरणीय ऊर्जा प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने ।
  • नविकरणीय ऊर्जा प्रविधिको विकास तथा प्रवर्द्धनमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने ।

कोष सञ्चालनका सिद्धान्तहरु

कोषलाई नियमित तथा प्रभावकारी रुपमा सञ्चालन गर्न देहायका सिद्धान्तहरु अवलम्वन गरिएका छन्:

  • कोष नविकरणीय ऊर्जा क्षेत्रको प्रमुख वित्तीय व्यवस्थाको रुपमा अफ्नै कार्यादेश तथा व्यवस्थापन संरचना सहितको एक स्वशासित संयन्त्र/संस्था हुने ।
  • कोष र केन्द्रले आफ्नो स्वतन्त्रतालाई कायम राख्दै एकअर्कासँग मिलेर कार्य गर्ने ।
  • दीर्घकालमा अनुदानलाई कर्जा सुविधाहरुबाट प्रतिस्थापन गरिने र कर्जा सुविधाको व्यवस्थापनको जिम्मेवारी प्रवन्ध बैंक तथा साझेदार बैंकहरुको हुने ।
  • कोष अर्धसावधिक कोषको रुपमा सञ्चालित हुने र बाँकी हुन आएको कोषको रकमलाई सुरक्षित वा कम जोखिम भएका क्षेत्रहरुमा लगानी गर्न तथा त्यसबाट आय आर्जन गर्न सक्ने गरी सञ्चालन गरिने ।
  • सञ्चित मुनाफालाई कोषको विस्तार गर्न तथा वित्तीय व्यवस्थालाई सुदृढ गर्न पूर्णरुपमा कोषभित्रै पुन:लगानी गरिने ।
  • कोषलाई वित्तीय मध्यस्थकर्ताहरुको छनौट गर्नको लागि पूर्ण स्वतन्त्रता हुने ।